आफैले ब्याट्रीमा पानीको लेभल कसरी चेक गर्ने ?

ब्याट्रीमा हुने एसिडको मात्रा सहितको पानीलाई इलेक्ट्रोलाइट भनिन्छ र यो इलेक्ट्रोलाइट ब्याट्रीमा सहि मात्रामा भइराख्नु पर्छ । किनभने सम्पुर्ण रसायनिक प्रतिक्रिया यहि इलेक्ट्रोलाइटमा हुन्छ । इलेक्ट्रोलाइट कम भएमा ब्याट्रिको प्लेटहरु खराब हुने, धेरै भएमा ब्याट्री पूरा चार्ज नहुने हुनाले यो ठिक मात्रामा हुनुपर्छ । ब्याट्री चार्ज हुँदा इलेक्ट्रोलाइट तातिने, उम्लने हुँदा केहि मात्रमा पानी सुक्न जान्छ जसले गर्दा हामीले बेला-बेलामा चेक गर्ने, कम भएमा डिस्टिल्ड वाटर मात्र थप्ने गर्नुपर्छ ।

यहाँ गाडी र इन्भरटरको ब्याट्रीमा फरक तरिकाले पानीको लेभल हेरिन्छ । आउनुहोस हामी आफैले ब्याट्रीमा पानीको मात्रा हेर्न सिकौं ।

१. गाडीको ब्याट्रीमा

गाडीको ब्याट्रीमा पानी तथा चार्जको अवस्था हेर्नलाई इन्डिकेटर राखिएको हुन्छ, यसलाई म्याजि आई (जादुई आँखा) भनिन्छ । यो ढकन जस्तै खोल्न मिल्छ, सफा गर्न मिल्छ । यो कम्पनि अनुसार फरक-फरक हुन्छ । कसैले नराखेका पनि हुन सक्छन । यसमा इन्डिकेसनको लागी ३ वटा रंग राखिएको हुन्छ ।

हरियो : ब्याट्रीमा चार्ज पनि ठिक छ र पानीको मात्रा पनि
ठीक छ भने हरियो देखिन्छ ।

सेतो : ब्याट्रीमा ५०% भन्दा कम चार्ज भएमा
सेतो देखिन्छ । ( ग्र्याभिटि १.२०० भन्दा कम भएमा )

रातो : ब्याट्रीमा पानीको मात्रा कम भएमा रातो
देखिन्छ । धेरैले रातो भएमा ब्याट्री बिग्रेको भन्नु हुन्छ तर त्यसो होइन ।

२. ईन्भरटर ब्याट्रीमा

ईन्भरटर ब्याट्रीमा कम्पनिहरुले लेभलर राखिदिएको हुन्छ । यसमा पानीको मात्रा इन्डिकेटरको भित्र रहेको निडिलले देखाउंछ । पानीको मात्रा कम हुंदै गएमा भित्रको निडिल रातो लाइनमा पुगेमा निडिललाई हरियो लाइनसम्म पुग्ने गरि डिस्टिल्ड वाटर थप्नु पर्छ । हरियो लाइन भन्दा माथि थप्नु हुंदैन । ब्याट्रीमा इलेक्ट्रोलाइट संधै हरियो र रातो लाइनको बीचमा हुनु पर्दछ । कहिले काहीं इन्डिकेटर बिग्रेमा पनि सहि मात्रा नदेखाउन सक्छ । यो इन्डिकेटर बजारमा कहिं-कतै पाइन्छ ।

Scroll to Top