स्टार्टिङ्गको लागी लीड-एसिड ब्याट्री नै किन प्रयोग गरिन्छ ?
हामीले देखेका छौं कि इलेक्ट्रिक गाडीहरुमा ब्याक अपको लागी लिथियम ब्याट्रीको प्रयोग गरेपनि स्टार्ट गर्नको लागी लीड-एसिड ब्याट्री नै प्रयोग गरिन्छ । गाडी स्टार्ट किन लीड-एसिड ब्याट्री नै प्रयोग गरिन्छ त, किन इलेक्ट्रिक गाडीहरुमा पनि स्टार्ट गर्नको लागी लिथियमको प्रयोग गरिदैन ? केही प्रमुख कारणहरुको बारेमा तल चर्चा गर्नेछौं ।
१. उच्च करेन्ट आउटपुट:
लीड-एसिड ब्याट्रीहरूले इन्जिन स्टार्ट गर्नका लागि आवश्यक पर्ने उच्च करेन्ट छोटो समयमा नै प्रदान गर्न सक्छन, विशेष गरी चिसो मौसममा जब सवारी स्टार्ट गर्न धेरै करेन्ट आवश्यक हुन्छ । लिथियम ब्याट्रीले कम समयमा, कम तापक्रममा एकैपटक धेरै करेन्ट प्रदान गर्न सक्दैन । सबैभन्दा महत्वपूर्ण बुंदा पनि यहि नै हो ।
२. लागत:
लिथियम ब्याट्रीहरूको तुलनामा लिड-एसिड ब्याट्रीहरू उत्पादन र खरिद गर्न सामान्यतया सस्तो हुन्छन्, यसले धेरै सवारी धनी तथा इन्भरटर प्रयोग कर्ताहरूका लागि धेरै बजेट-अनुकूल हुन आउंछ ।
३. प्रमाणित टेक्नोलोजी:
लीड-एसिड टेक्नोलोजी लामो समयदेखि रहेको छ र यो अटोमोटिभ प्रयोजनको लागि भरपर्दो विकल्पको रुपमा रहँदै आएको छ ।
४. मजबुतता:
लीड-एसिड ब्याट्रीहरूले धेरै चिसो तथा गर्मीको सामना गर्न सक्छन् तर लिथियम ब्याट्रीहरू उच्च तापक्रममा संवेदनशील हुन्छन र आगो लाग्न सक्ने प्रबल संभावना रहन्छ ।
५. रिसाइकल र उपलब्धता:
लीड-एसिड ब्याट्रीहरू व्यापक रूपमा पुन: प्रयोग गरिन्छ र सामग्रीहरू सजिलै उपलब्ध हुन्छन । सामान्या चार्जरले पनि चार्ज गर्न सकिन्छ ।
जबकि लिथियम ब्याट्रीहरुमा धेरै ऊर्जा भण्डारण गर्न सक्ने र लामो आयु हुने जस्ता फाइदाहरू हुन्छन तर तिनीहरूको धेरै लागत, व्यवस्थापन प्रणालीहरूमा जटिलता, र उच्च तापक्रममा जोखिम धेरै हुने हुनाले गाडी स्टार्ट गर्नको लागी लिथियम ब्याट्रीको साटो लीड-एसिड ब्याट्रीहरू प्रयोग गरिन्छ ।
Share Us


