ईन्भरटर ब्याट्रीको आफैले कसरी हेरचाह गर्ने ?
हामी प्राय जसो ईन्भरटरको लागी पानी भएको लिड एसिड ब्याट्री नै प्रयोग गर्छौं । जेल तथा VRLA ब्याट्रीमा खासै हेरचाह गरि रहन पर्दैन । पानी भएको ब्याट्रीमा पानी कम हुने, टर्मिनलमा खिया लाग्ने हुनाले बेला-बेलामा यसको हेरचाह गरिरहन आवश्यक हुन्छ । यसो गर्यौं भने लामो समय सम्म प्रयोग गर्न सकिन्छ । हेरचाहका केही सुझावहरू जो आफैले घरैमा पनि गर्न सकिन्छ:
इलेक्ट्रोलाइट लेभल जाँच गर्नुहोस:
ब्याट्री नयाँ छ भने ४-५ महिनाको अन्तरमा र पुरानो छ भने ३-३ महिनाको अन्तरमा नियमित रूपमा ब्याट्रीमा पानीको लेभल हेर्नुहोस । बाहिरबाट लेभल हेर्नलाई कम्पनिहरुले ब्याट्रीमा लेभलर दिएका हुन्छन । यदि यो कम छ भने, बिश्वासिलो ठाउँको डिस्टिल्ड वाटर थप्नुहोस । पानी थप्नलाई सोलिको प्रयोग गर्न सक्नु हुन्छ ताकी पानी बाहिर नपोखियोस । ब्याट्रीमा पानीलो लेभल कसरी हेर्ने ?
टर्मिनलहरू सफा गर्नुहोस:
ब्याट्री टर्मिनलहरू र माथिको भाग सफा र सुख्खा राख्नुपर्छ ताकी करेन्ट लिकेज नहोस । टर्मिनलहरू सफा गर्न बेकिंग सोडा र पानीको मिश्रण प्रयोग गर्नुहोस । सोडा पानीले एसिडलाई काट्ने भएकोले यसको प्रयोग गर्नु उपयुक्त हुन्छ र ब्याट्री पनि सुख्खा हुन्छ । टर्मिनमा निलो पाउडर जम्मा भएको भए तातो पानी हाल्नुहोस यो बरफ जस्तै पग्लेर जान्छ । अनि ब्रसले सफा गरेर पेट्रोलियम जेली तथा डाइ-इलेक्ट्रिक ग्रीजको प्रयोग गर्नुहोस । यसले टर्मिनलहरुलाई हाइड्रोजन, सल्फर ग्यास तथा अक्सिजनको सिधा सम्पर्कमा आउन दिदैन र खीया लाग्न कम हुन्छ । तारमा पनि निलो लागेको भय तातो सोडा पानीमा केहिछिन डुबायर छोड्नुहोस अनि कपडाले पुछ्नुहोस ।
अन्य कुराहरुः
सफा गर्न भन्दा अघि चार्जिङ्गको तार पावर सकेटबाट झिक्नुहोस र इन्भरटरको स्वीच अफ गर्नुहोस, अनि मात्र ब्याट्रीको तार खोल्नुहोस । इन्भरटरमा कतिमा सामान्य स्वीच टाइपको हुन्छ भने कतिमा पुस गर्ने खालको हुन्छ । कति जना करेन्ट लाग्ने डर मान्नुहुन्छ तर यसमा चार्जिङ्ग र इन्भरटरको स्वीच अफ गरेपछि करेन्ट लाग्दैन । सफा गर्दा मेडिकल पञ्जाको प्रयोग गर्नु राम्रो हुन्छ । रेन्च १३-१४ को राख्नुहोस । जोड्दा अलिकति स्पार्क गर्छ, नआत्तिनुहोस ।
- ब्याट्रीलाई चिसो, सुख्खा र राम्रो हावा चल्ने ठाउँमा, काठ वा प्लाईबोर्ड बिछ्यायर राख्नुहोस । यसलाई प्रत्यक्ष घाम पर्ने वा कुनै तातो कुराहरुको नजिक नराख्नुहोस ।
- इन्भर्टरले ह्यान्डल गर्न नसक्ने अत्याधिक भारहरू जडान नगर्नुहोस, यसले ब्याट्रीमा अनावश्यक तनाव रोक्न मद्दत गर्दछ ।









